पतिलाई जेल छुटाउने भन्दै पत्नीसँग १० लाख लिएर बलात्कार ! त्यही पनि नेताले !

57

राजविराज : लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला सप्तरीमा एक नेताले महिलासँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको घटना बाहिर आएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ का लोखरमका मनोज मेहतालाई एक महिलाको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

ठगी तथा बलात्कारको आरोपमा मनोज मेहतालाई आइतबारै गिरफ्तार गरी कारवाही थालेको बुझिएको छ । राजविराज कारागारमा थुनामा रहेका आफ्ना श्रीमानलाई छुटाइदिने प्रलोभनमा स्थानीय एक महिलासँग पटक पटक गरी साढे १० लाख लिएको र लजमा लगेर जबर्जस्ती करणी गरेको महिलाको आरोप छ ।

मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले बताए । अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाइदिने आश्वासन दिँदै मेहताले महिलालाई शोषण गरेको बुझिएको हो ।

पछिल्लोपटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाइ छ ।

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराइदिएपछि वैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकाले छुटाउन दश लाख रकम माग गरेका थिए ।

पीडितका अनुसार पछिल्लो पटक जेलमै भेंट भएका मेहताले ‘न्यायाधीशका मानिससँग भेट्न जाउँ, आफैँले कुरा गर’ भन्दै राजविराजस्थित अशोक लज लगेका थिए ।

लजमा ‘न्यायाधीशको मान्छे’ १५ मिनेटसम्म पनि नआएपछि निस्कन खोज्दा उनले भित्रबाट चुकुल लगाएर सुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताइन् । यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन् ।

जेलमा परेका श्रीमान छुट्ने आशामा उनले नन्द, माइती र अन्य मानिससँग ऋणकर्जा लिएर मेहतालाई पैसा दिएको बताएकी छन् । ‘पापीले इज्जत पनि लुट्यो । धर्म र धन लुट्यो ।’ मुद्दा दर्ता नम्बर लिन सोमबार जिल्ला प्रहरी कार्यालय आएकी पीडित महिलाले रुँदै भनिन्, ‘साह्रै अन्यायमा परेँ, न्याय चाहियो ।’

कमेन्ट गर्नुहोस्
You might also like