बिहान राम्ररी उज्यालो पनि भएको थिएन , हाम्रो छोरो उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै लगे

589

काठमाडौं , चार–पाँच दिन अघि बिहान राम्ररी उज्यालो पनि भएको थिएन । हाम्रो छोरो (विशाल) त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै लगे । दिनभर केरकार गरेर बेलुका छाडिदिए ।अर्को दिन फेरि समातेछन्, दिनभर केरकार गरेर छाडिदिए । यसरी कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए ।हामी ज्यालादारीमा काम गर्छौँ, हिजो (बुधबार) दिनभर काम गरेर साँझ फर्किएका थियौँ, छोरालाई फेरि समातेछन्, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरू आए । छुटाउन गयौँ  । तर उसलाई भित्र राखिएको थियो, तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई धपाइदियो ।राति उसलाई उतै राख्ने भए, हामी घर आयौँ ।

तर सुत्न सकेका थिएनौँ । राति १२ बजेतिर गाडी लिएर पुलिस आए, विशालका सारा कपडा उठाएर लगे, थोत्रा चप्पल पनि छाडेनन् ।बिहान हामी पुलिस कार्यालय गयौँ, भित्र जान दिएन । अब तिम्रो छोरालाई काठमाडौं लग्ने हो, तिमी पनि जानुपर्छ, २ बजे तयार हुनू भनेर मेरो श्रीमानलाई पुलिसले भने । पुलिसले भनेपछि मान्नैपर्‍यो, पक्राउ परेका अरूलाई पनि गाडीमा राखेर धनगढी लगे, त्यहाँबाट जहाजमा काठमाडौं लगे भन्ने सुनेकी छु, अरू जानकारी पाएकी छैन ।चार–पाँच दिन यता हरेकपटक पक्राउ गर्दा निर्मलाको केसबारे सोधपुछ गर्छन् भनेर छोराले भनेको थियो । तर, त्यो केसमा मेरो छोराको दोष छैन । किनकि १० साउनमा निर्मलाको घटना भएको भन्ने सुनेकी छु ।

९ साउनमा मेरो छोरालाई पुलिसले पक्राउ गरेको थियो । हाम्रै गाउँको एउटा मान्छेले कुखुराको मासुको व्यापार गर्छ । उसको कुखुरा हराएको रहेछ । चोरीमा मेरो छोराको नाम लिएको रहेछ, त्यसैले पुलिसले उसलाई पक्रेको थियो ।मेरो छोराले के–के औषधि पनि खान्छ भनेर हल्ला चलेको सुनेकी छु । दारु खाएको थाहा छ, त्यस्तो औषधि खाएको मलाई थाहा छैन  । बरु एकपटक एउटा पसलबाट बिस्कुट, चाउचाउ चोर्‍यो भनेर पनि पुलिसले लगेको थियो । यसअघि पनि चोरीको केसमा पुलिसले लगेकोे हो, तर त्यस्तो अपराध गरेको भन्ने गलत हो ।नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
You might also like