आफ्नै होटेलमा काम गर्ने बालकको मालिक्नी शाहीले भाँचिन हात, दशैंमा घर जान्छु भन्दा चरम यातना

19

दैलेख। होटलमा काम गर्ने बाह्र वर्षका बालकले १५ सय चोरेको भन्दै दैलेखमा एक होटल मालिक्नीले बालकको हात भाँचिदिएकी छिन् । कर्णाली राजमार्गमा पर्ने दुल्लू नगरपालिका-३, सियालाको सागर होटलकी मालिक्नी शान्ति शाहीले बालकको हात भाँचेकी हुन् ।

घटनास्थल एकान्त ग्रामीण बस्ती भएको र पीडक पक्षले उपचारको वास्ता नगरेको कारण १८ दिनपछि मात्रै घटना सार्वजनिक भएको हो ।

प्रहरीलाई पहिल्यै सूचना दिदा पनि उद्धारमा चासो नदिएको स्थानीय अधिकारकर्मीहरुको आरोप छ । सल्यानको दार्मा गाउँपालिका-६ किम टाकुराका प्रकाश बुढाथोकीले आफू काम गर्ने होटलको गल्लाबाट १५ सय झिकेर भागेको आरोपमा होटल मालिक्नीले चरम याताना दिएको स्थानीयले बताएका छन् ।

मालिक्नीको कुटपिटको क्रममा ती बालकको हात भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसबेलाको कुटपिटले दुई वटा दाँत पनि हल्लिएको पीडित बालकले बताए ।

‘दसैँमा घर जाँदा १५ सय दिनुहोला’ भनी आग्रह गरेका बालकलाई दसैँमा घर जान नदिने कुरा गरेपछि उनी असोज १८ गते बिहान करिब १० बजेतिर त्यहाँबाट भागेको बताइएको छ ।

भाग्दै गरेका बालकलाई छिमेकी कृष्णा शाहीले रोकेर बोलाएपछि शान्ति शाहीले मूल सडकमै लछारपछार गर्नुका साथै टेबुलमा हात राखेर दाउराले हिर्काउँदा प्रकाशको देब्रे हातको नाडी भाँचिएको हो ।

हात भाँचिएपछि बालकले ल्याएको भनिएको १५ सय लिएर ‘जहाँ जान्छस् जा’ भन्दै गलहत्याएर सुर्खेत जाने बाटोतर्फ धकेलेपछि बालकले रुँदै सियालाबाट पैदल ३ किलोमिटर टाढा नाउली भन्ने ठाउँ पुगेर कृष्णबहादुर शाहीको घरमा आश्रय लिएको बताइएको छ ।

आफुहरुले बालकको उपचार गर्न होटल मालिक्नीलाई भने पनि वास्ता नगरेको र यसबारे प्रहरीलाई खबर गर्दा प्रहरीले पनि चाँसो नदिएको स्थानीय तेजबहादुर महतले गुनासो गरेका छन् ।

होटल मालिकले बेवास्ता गरेको र त्यसरी भाँचिएको हात ढिलो उपचार गर्दा झनै जोखिम बढ्ने भएकोले स्थानीयहरुले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र यो घटना सार्वजनिक भएको हो ।

यसैबीच बालकको प्रारम्भिक उपचारको प्रयास गरेका अहेव राजेशप्रसाद रिमालले देब्रे हातका नाडीका दुइटै हड्डी फुटेको बताएका छन् ।

बालकलाई कुटपिट गर्ने होटल मालिक्नीलाई बोलाइएकोमा उनका पति सुरेश शाही उपस्थित भएपछि उनीसँग बालकको उपचारबारे जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक छलफल भएको छ ।

छलफलपछि महिला तथा बालबालिका सेवा केन्द्रका प्रभा बिक र होटल मालिक शाहीसहित बालकको उपचार गराउन आजै नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

घटनाका विषयमा आारोपित व्यक्ति शान्ति शाहीसँग टेलिफोनमा प्रतिक्रिया लिँदा पैसा चोरेको रिसमा कुटपिट गरेको स्वीकार गर्दै छिमेकीहरुले पुरानो घटनालाई उचालेको बताइन । तर उपचार नगर्नुको कारणबारे केही बोल्न चाहिनन् ।

‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ को दफा १९२ को उपदफा (५)मा उपचारबाट निको हुने गरी अङ्गभङ्ग गराएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैंयाँ जरिवाना समेत हुने कानुनी व्यवस्था छ ।

त्यसैगरी १४ वर्ष मुनिका बालबालिकालाई बालश्रममा लगाउनेलाई ‘बालश्रम (निषेध र नियन्त्रण गर्ने) ऐन २०५६’को दफा ३ ले तीन महिनासम्म कैद वा १० हजार रुपैंयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्
You might also like