प्रेस काउन्सिल नेपालले मनायो नेपाली टोपी दिवस

8

पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालले पनि राष्ट्रिय पोशाक जगेर्ना गर्ने उद्देश्यले नेपाली टोपी दिवस मनाएको छ । काउन्सिलका अधिकांश कर्मचारीहरु आज दौरा सुरुवाल र ढाकाटोपी लगाएर कार्यालयमा आएका थिए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले टोपी दिवस मनाउनु अत्यन्तै राम्रो कुरा भएको भन्दै सबै सरकारी कार्यालयमा टोपीसहित दौरासुरुवाल युक्त नेपाली पोशाक अनिवार्य भए झन राम्रो हुने बताए । उनले प्रत्येक महिनाको कुनै निश्चित दिन वा बारमा दौरासुरुवाल लगाएरै आउनु पर्ने गरी व्यबस्था गर्ने सम्बन्धमा छलफल भैरहेको पनि बताए ।

त्यस्तै उप–प्रशासकीय अधिकृत रामशरण बोहराले हरेक विकसित मुलुकहरुको समेत आफ्नो पोशाक हुने भएकाले नेपाल जस्तो बहु–जातजाति र भाषभाषी भएको देशमा पोशाकको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलीलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएको थियो । अंग्रेजी नयाँ बर्षलाई नेपाली टोपी दिवसका रुपमा मनाउन जागरुक युवा अभियानले नेपाली टोपी दिवसको सुरुआत गरेको थियो ।

यस बर्ष ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नारासहित नेपाली टोपी दिवस मनाईएको छ । अभियानले आज बिहान राजधानी काठमाडौंको माइतीघर मण्डलामा सबैभन्दा ठूलो नेपाली टोपी प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
You might also like