थारु समुदायमा माघी पर्वको चहलपहल

28

बाबाकी सगरा गैनु हाँ, मुरिया लहाने, सखी ये हो, सेन्दुर छुटल पानी घाट । सखी ये हो…’ । ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखीयै हो माघक् पिली गुँरी–गुँरी जाँर ।’
थारु समुदायको महानपर्व माघीमा घन्किने गीतले कैलालीको थारु बस्ती अहिले नै गुञ्जायमान बनेको छ । वर्षदिनको पीडा बिर्सेर उल्लासपूर्वक मनाइने माघी पर्वको चहलपहल सुरु भइसकेको छ ।जवान व्यक्ति, बालबालिका, वृद्धावृद्धा सबै माघी पर्वको रौनकमा भिजेका छन् । गाउँघरका जमिन्दार परिवारदेखि लिएर मुक्त कमैया बस्तीसम्म पर्वको उमङ्ग र उल्लासले छोइसकेको छ । कामका लागि विदेशीएका परदेशीहरु माघीमा मनाउनका लागि फर्किन थालेका छन् । पुस अन्तिम दिनबाट माघी पर्व सुरु हुने भएपनि धमार गीत, मघौटा नाचगानसंगै हरेक बस्तीका थारु माघीको तयारीमा जुटेका छन् ।

माघीको लागि अन्न कुटानी पिसानीदेखि लिएर सालको पातबाट दुना, टपरी गाँस्ने, मासुका लागि ‘जिता’ मिलाउने, घर लिपपोत जस्ता कार्य धमाधम भइरहेको बताउँछन्, धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका लक्ष्मीनारायण चौधरी ।‘एक वर्षपछि फर्केर आउने महान पर्व माघीको चहलपहल सबैतिर सुरु भइसकेको छ’, उनले भने–‘कुटानी, पिसानीदेखि लिएर आवश्यक सरसामान जुटाउने, तयारी गर्ने कार्य भइरहेको छ ।’माघी पर्वमा मूलतः ढिक्री, सुङ्गुरको मासु, तरुल जस्ता मिठा–मिठा परिकार खाने चलन छ । माघीमा ढिक्री बनाउनका लागि हप्तादिन अगाडिबाटै कुटानी पिसानीको काम हुने गर्दछ । पुसको अन्तिमदिन सुङ्गुर मारेर खाइन्छ । जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने गरिन्छ । जिता मारेर मासु खाने, खुवाउने र रमाउने चलन छ । त्यसपछि रातमा धमार गीत गाउँदै जाग्राम बस्ने, मघौटा नाच नाचेर रमाउने गरिन्छ ।

‘देऊ देऊ मायर रे हो, एक टक पैसा, मै चली जैबुँ तीर्थ लहानी । अरे तीर्थ लहैबु मै तै फल पैबु । घरहीँ लहैबुँ मै बाँटल फल पैबी, लेहबु रामज्यूके नाउँ रघुवीर तीर्थ लहानी हो ।’यस्तै–यस्तै धमार गीत गाउँदै माघ १ गते अर्थात माघी पर्वको दिन बिहान नहुँदै नदी, तलाउमा नुहाउने गरिन्छ । नुहाउनु अगाडि नदीमा पैसा छोड्ने चलन छ । यो दिन बिहानै नुहाउनाले वर्षदिनमा जानेर वा नजानेर गरेको पाप पखालिने र पूण्य मिल्ने विश्वास गरिन्छ । बिहानै नुहाइ धुवाइ गरेर आफूभन्दा ठूला मान्यजनबाट आशिर्वाद लिने, आफन्त, इष्टमित्र, छरछिमेकी भेटेर शुभकामना साटासाट गर्ने रमाउने र तरुल, फर्सी जस्ता परिकार खाने चलन रहि आएको जनाइएको छ ।थारु समुदायमा कलङ्कित प्रथाको रुपमा रहेको कमैया र कम्लहरी प्रथासंग पनि माघी पर्वको सम्बन्ध छ । गतविगतमा माघी पर्वकै बेला कमैया र कम्लहरीको मोलमोलाइ हुने गरेको थियो । कमैया, कम्लहरी राख्ने वा उनीहरुलाई छुट्कारा दिने निक्र्योल यहि पर्वमा हुन्थ्यो । विशेषतः दासत्वको बन्धनबाट मुक्ति पनि यहि पर्वमा पाइने गरेकाले माघीलाई स्वतन्त्रताको पर्वको रुपमा पनि कतिपयले लिने गर्दछन् । नेपाल सरकारले दुवै प्रथालाई प्रतिबन्ध लगाइ सकेको छ ।

माघी पर्वको दिन गएको वर्षभरिको समिक्षा गर्नेदेखि अब पछिल्लो एक वर्षभरी गरिने कार्यको योजना बनाइन्छ । गाउँघरको नेतृत्व गर्ने भल्मन्सा (बड्घर) अघारी, चिरकिया (चौकीदार) चयन गरिन्छ । यो पर्वमा खेतीपातीको वार्षिक योजना निर्माणका साथै परिवारका हरेक सदस्यहरुको जिम्मेवारी बाँडफाँडदेखि लिएर छोरीछोरीको विवाह, अङ्शबण्डा, घर निर्माण लगायतको कार्यको थालनी गर्ने गरिन्छ ।माघी पर्वलाई थारु समुदायको नयाँ वर्ष भन्ने गरिए पनि यो पर्व खासगरेर आर्थिक वर्षको रुपमा रहेको थारु साहित्यकार छविलाल कोपिलाको तर्क छ । उनी भन्छन्–‘नयाँ वर्ष भन्ने हो भने हामी थारु समुदायको आफ्नो क्यालेण्डर छैन । तर, माघीमा आर्थिकसंग सम्बन्धित वार्षिक कार्ययोजना निर्माणदेखि विवाह, अङ्शबण्डा, हरहिसाबका कार्य सुरु हुन्छ । त्यसैले यो आर्थिक वर्ष हो ।’

थारु समुदायभित्रको सबैभन्दा विपन्न र सीमान्तकृत व्यक्ति हुन मुक्त कमैया । वर्षदिनभरी जे जसरी जीवन यापन गरे पनि माघी पर्वमा सम्पूर्ण दुःख, पीडा बिर्सेर यो वर्गले पनि रमाइलो गर्दै आएका छन् । मजदुरी गरेर भएपनि माघीमा मासु खान र बालबालिकालाई नयाँ नानाका लागि पैसाको जोहो गरेका हुन्छन् । विभिन्न बस्तीमा मादल घन्काएर मघौटा नाच नाच्ने, रमाइलो गर्ने कार्य हुन्छ ।कैलालीको सबै बस्तीमा माघीको तयारी भइरहेको मुक्त कमैया अगुवा बजारी चौधरीले बताइन् । ‘हरेकवर्ष नाचगान गर्दै माघीमा रमाउँदै आएका छौं’, राधाकृष्णमुक्त कमैया बस्तीमा बस्दै आएकी उनले भनिन्–‘पर्व र नाचको तयारी भइरहेको छ ।’ मुक्त कमैयाको पुनःस्थापना, जिविकोपार्जन लगायतको सवाल एकातिर कायमै रहे पनि वर्षदिनमा एकचोटी आउने पर्वमा रमाउँदै आएको चौधरीले जनाइन् ।

कमेन्ट गर्नुहोस्
You might also like